करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

Activities

चितवन – उद्योग वाणिज्य संघ चितवनले करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उद्यमी व्यवसायीलाई कर शिक्षा,करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा जानकारी गराइएको थियो ।

संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण धरासायी भएका व्यवसायीहरु भर्खरमात्र उठ्ने प्रयास गरिरहेको भन्दै कर, करजन्य विषय वस्तुमा अनभिज्ञ भएमा व्यवसाय चुस्त रहन नसक्ने बताए । उनले व्यवसायीहरुले निश्चित भुगोलमा व्यवसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजश्व बुझाउनु पर्ने कर्तव्य भएको बताउदै सोही बमोजिम सरकारले पनि व्यवसायमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए ।व्यवसायी कर तिर्न सदैव तयार रहेको तर करको दरमा भन्दा दायरा बृद्धि गर्न जोडदिनुपर्ने उनको भनाइ थियो ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत घनश्याम पन्थीले प्रत्येक व्यवसायी आ–आफ्नो व्यवसायको कर अधिकृत आफै रहेको र व्यवसाय नभए कर पनि नहुने बताउदै व्यवसायको सफलतानै कर संकलनको सफलता भएको बताए । उनले आर्थिक विधेयक २०७७ ले ल्याएका विशेष छुट तथा कोभिड १९ प्रभावित क्षेत्रमा भएका सहुलियतका वारेमा सम्पूर्ण व्यवसायी जानकार हुन यस किसिमको कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका लेखा अधिकृत जगन्नाथ अर्याल र आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत विमल घर्ति मगरले कार्यपत्र प्रस्तुत गरेका थिए । उवा संघको आयोजना एवम् भरतपुर महानगरपालिका कार्यालय र आन्तरिक राजश्व कार्यालय भरतपुरको सहयोगमा आयोजित कार्यक्रममा संघमा आवद्ध वस्तुगत संघका अध्यक्ष,पदाधिकारी, संघका कार्यसमिति सदस्य ,पदाधिकारी लगायत ८० जना व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संघका राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Cheque handover programme by Chitwan Chaber of Commerce & Industry Chitwan

यसैबीच सोही कार्यक्रमको अवसरमा आगलागीबाट क्षती पुगेको संघको सदस्य अनुषा कृषि फर्मका प्रोपाईटर खगराज पाठकलाई व्यवसायी राहत कोष अन्तरगत २५ हजारको चेक हस्तान्तरण गरिएको छ । उक्त चेक संघका अध्यक्ष राजु श्रेष्ठले पाठकलाई हस्तान्तरण गरे । संघले सामाजिक उत्तरदायित्व एवम् व्यवसाय राहत कार्यक्रम अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो । संघले आफ्ना सदस्य व्यवसायीहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी राहत कोषको स्थापना गरेको छ ।

Print