व्यवसाय सञ्चालन गर्न उद्योग वाणिज्य संघ चितवनको माग, सीडीओलाई बुझायो ज्ञापनपत्र

उद्योग वाणिज्य संघ–चितवनले व्यवसाय सञ्चालनका लागि माग गरेको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई आज ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो ।
ज्ञापनपत्र हस्तान्तरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञा उद्यमी व्यवसायीले पालना गरेको बताउँदै हाल कोरोना संक्रमण दर घट्दो क्रममा रहेको कारण समय तालिका तय गरी आलोपालो उद्यम, व्यवसाय सञ्चालन हुने व्यवस्थाका लागि अनुरोध गरे । उनले कोरोना संक्रमणको अवस्थालगायत अन्य विपद्को समयमा निजी क्षेत्रको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत रही सरकारलाई सहयोग गर्दै आएको र आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्न उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहेको बताए ।

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय ठप्प हुँदा व्यवसायीलाई मार पर्नुका साथे दिर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने बताए । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठबाट ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संघले तयार गरेको विषयगत तालिकालाई अध्ययन गरी जानकारी दिने बताए ।

कार्यक्रममा उनले आगामी दिनमा हुने निर्णय परिस्थितिको अध्ययन गरी उद्यमी व्यवसायीको समन्वयमा हुने बताए । कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनद्वारा लागू गरिएको पछिल्लो निषेधाज्ञा असार १० गतेसम्म रहेको कारण असार ११ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गर्ने गरी व्यवसाय सञ्चालन तालिकासहित माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

व्यवसाय सञ्चालनका लागि गरिएको मागपत्र बमोजिम अत्यावस्यक वस्तु तथा सेवा बाहेक संघमा आवद्ध भएका ३६ वटा वस्तुगत संघ मातहतका व्यवसायहरु, उद्योग कलकारखानालाई दैनिक ६ घण्टाका दरले हप्ताको पाँच दिन आलोपालो पद्धति बमोजिम सञ्चालन गर्नका लागि अनुरोध गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए । यसैगरी यातायातका सन्दर्भमा जोर बिजोर प्रणाली बमोजिम तथा होटल तथा लजका सम्बन्धमा भौतिक दूरी कायम गर्ने गरी सञ्चालनका लागि माग गरिएको संघको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,उपाध्यक्ष त्रय सुमनकुमार श्रेष्ठ, चिरञ्जीवी सुवेदी, भोजराज कौडाल र संघका कार्यकारी निर्देशक निलबहादुर केसीको उपस्थिति रहेको थियो ।
Print