उद्योग वाणिज्य संघ–चितवनद्धारा आगजनीबाट पीडित व्यवसायीलाई राहत वितरण

उद्योग वाणिजय संघ–चितवनले

२०७९ जेष्ठ १८ गते संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि राहत वितरण गरेकोे थियो । गत बैशाख १५ गते भरतपुर महानगरपालिका वडा नं ३ कमलनगरमा भएको आगजनीका कारण क्षति भएका संघका सदस्य न्यू लामिछाने फेन्सी र एक्सप्रेस मोवाईल शप लाई जनही रु ५०,०००।– (अक्षेरुपी पचास हजार मात्र ) का दरले राहत रकम प्रदान गरेको हो ।  राहत वितरण कार्यक्रममा वोल्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले आगजनीका कारण व्यवसायीको करोडौंको क्षति भएको भएता पनि संघले आफ्ना सदस्यप्रति संघको दायित्व सम्झि राहत प्रदान गरेको बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका विपत्ति पूर्वसूचना दिइ नआउने बताउंदै व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित र सुरक्षित तवरले संचालन गर्नुपर्ने बताउनु भयो ।  सोही कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहललाल प्रधानले सदस्यता राहतकोषले सस्थाका सदस्यहरुलाई आकास्मिक रुपमा भैपरी आउने भौतीक क्षती पुगेको वेला व्यवसायीमा छाएको गम्भीर पिडालाई राहत महशुस गराउने उद्देश्यले यो कोषको स्थापना गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायीले व्यवसाय मात्रै गरेर हुदैन सामाजिक उत्तरदाईत्वका काम पनि गर्नुपर्ने वताउदै यस कोषले व्यवसायीक सामाजिक उत्तरदाईत्वमा समेत टेवा पु¥याएको बताउनु भयो । संघको कार्यसमिति बैठक कक्षमा आयोजना गरिएको उक्त कार्यक्रमा संघका पदाधिकारी, कार्यसमिति, नेउवामहासंघको कार्यकारीणी सदस्य, विभिन्न बस्तुगत संघका अध्यक्ष लगाएतको उपस्थिति रहेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीक राहत कोषलाई बढाउदै लैजान सकिएमा अहिलेको रकम भन्दा धेरै सहयोग गर्न सकिने बताउदै धन्यवाद ज्ञापन गर्नुभयो । राहत रकम ग्रहण गर्दै संघका व्यवसायी एक्सप्रेस मोवाईल सपका प्रोपाईटर विष्णुमणी लामिछाने र न्यू लामिछाने फेन्सीका प्रोपाईटर सुर्यमणी लामिछानेले आफ्नो जतिसुकै क्षति भएता पनि संघले उपलब्ध गराएको राहतले आफुलाई संघको सदस्य भएकोमा गौरवको महशुस भएको बताउनु भयो । संघले २०७६ साल देखी आफ्ना सदस्य व्यवसायीलाई विपद् परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले व्यवसायी राहतकोषको स्थापना गरि राहत उपलब्ध गराउंदै आएको थियो ।