करदाता शिक्षा एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न
२३ मंसिर, भरतपुर,
चितवनको उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनको आयोजना एवम् आन्तरिक राजस्व कार्यालय भरतपुर र सुनौलो पटिहानी टोल विकास संस्थाको समन्वयमा आज पश्चिम चितवनका व्यवसायीहरूलाई लक्षित गरी करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भरतपुर महानगरपालिका वडा नं २२ को सभाहलमा भएको हो । पश्चिम चितवनका उद्योगी व्यवसायीहरूलाई आय कर तथा मूल्य अभिवृद्धि कर लगायत करका नीति नियमका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले करको न्युनतम जानकारी व्यवसायीहरूमा नहुँदा करसम्बद्ध झन्झटहरु भोग्नुपर्ने समस्याहरु निराकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत एवम कार्यक्रमका प्रमुख अतिथि पुण्य विक्रम खड्काले करदाता भनेको राज्यको रक्तसञ्चार भएको बताउँदै देश विकासका लागि सरकार मात्र केही होइन हाम्रो पनि भूमिका ठुलो हुन्छ भन्ने सोचेर कर तिर्न व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष विष्णुराज महतोले व्यवसाय गर्दा करका नीति नियमका बारेमा जानकारी बिना व्यवसायिक सफलता प्राप्त गर्न नसकिने भएकाले नीति नियमका बारेमा सिक्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको भयो ।
कार्यक्रममा बोल्दै सुनौलो पटिहानी टोल विकास संस्थाका अध्यक्ष अनिता आचार्यले करका बारेमा जानेको छैन भनेर छुट नहुने भएकाले सवैले जान्नुपर्ने भएकाले ध्यान दिएर नजानेका कुरा निर्धक्क सँग प्रशिक्षक सँग सोध्न व्यवसायीलाई अनुरोध गर्नुभयोे । कार्यक्रममा आन्तरिक राजश्व कार्यालयको कर अधिकृत विमल पौडेलले कार्यक्रमको मध्यस्तकर्ता गर्नुभएको थियो ।
कार्यक्रमको धन्यवाद ज्ञापन सहित समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायीहरूलाई अन्य कुनै तालिम आवश्यक परे तालिम दिन उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउँदै यही पुस २५ गते देखि माघ १० गते सम्म १५ औं संकरणको रुपमा चितवन महोत्सव–२०८१ आयोजना गर्न लागिएको जानकारी गराउँदै प्रदर्शकको रुपमा वस्तु तथा सेवा प्रवद्र्धन गर्न परे पनि सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । उहाँले चितवन महोत्सव–२०८१ लाई सफल पार्नका लागि सवैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष नारायण प्रधान, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, सूचना प्रविधि अधिकृत बिनायक लम्साल, भरतपुर महानगर नगर कार्यपालिका सदस्य विना नेपाली, भरतपुर महानगरपालिका वडा नं २२ का वडा सदस्यहरु, सुनौलो पटिहाली टोल विकास संस्थाका पदाधिकारी तथा कार्यसमिति लगायत उद्योगी व्यवसायी गरी करिव ७० जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न भएको करदाता शिक्षा एवम् प्रशिक्षण कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।