उवासंघ-चितवनद्वारा नेपाल सरकार समक्ष ज्ञापन-पत्र प्रस्तुत

उद्योग वाणिज्य संघ-चितवनले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारी निकायमा हुने भ्रष्टाचार अन्त्य गर्नका लागि स्थापना गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारलाई बढाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई मन्त्रीपरिषदबाट संशोधन गर्दै संसदमा पेश गरिएकोले उक्त मस्यौदा फिर्ता लिनको लागि ज्ञापन पत्र बुझाइएको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । 
cci chitwan
उद्योग वाणिज्य संघ-चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि संसदीय व्यवस्था, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति एवम् चितवन क्षेत्र नं. २ का सभासद माननीय कृष्णभक्त पोख्रेललाई संघका अध्यक्ष राजु श्रेष्ठले ज्ञापन पत्र बुझाउनु भयो । ज्ञापन पत्र ग्रहण गर्दै माननीय कृष्णभक्त पोख्रेलले व्यवसायीहरुले उठाएको सवाललाई यथासक्य छिटो नेपाल सरकारलाई अवगत गराई आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनु भयो । कार्यक्रममा सभासद् पोख्रेलले बर्तमान परिस्थितिमा विकासको सार्वजनिक - नीजि अवधारणालाई अगाडि बढाउंदै राष्ट्र निर्माणमा सहकार्य गर्नुपर्ने बताउनु भयो । सरकारी संयन्त्र अन्तर्गतकै आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, सम्पत्ति सुद्धिकरण आयोग लगायत दर्जनौं निकायबाट अनुगमन एवम् अध्ययन अनुसन्धान भइरहेको बर्तमान अवस्थामा सरकारले असल नियतले नभई व्यवसायीलाई हतोत्साहित बनाउने निहित उद्देश्यका साथ मस्यौदा तयार गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

मुलुकको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत भन्दा बढी योगदान गर्ने र रोजगारिको ४० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई राहतका कार्यक्रम ल्याउने  र व्यवसाय मैत्री वातावरण सिर्जना गर्नुको सट्टा यस किसिमका जटिलता सिर्जना गर्नुले देशको औद्योगिक विकास थप धरासायी हुने भएकोले ज्ञापन पत्र मार्फत सरकारलाई ध्यानाकर्षण गराइएको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । 

नेपाल सरकारले आ.व. २०७७/२०७८ को बजेट तथा आर्थिक निती तथा कार्यक्रम मार्फत समेत कुनै रचनात्मक कार्यक्रम र राहतका प्याकेज लिन नसक्नु दुखद रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम पश्चात समसामयिक विषयमा छलफल हुनुका साथै संघका अध्यक्षको नेतृत्वमा उद्योग वाणिज्य संघ-चितवन र भरतपुर महानगरपालिका कार्यालयको सहकार्यमा नारायणी नदी किनारमा निर्माणाधिन सी वीच अन्तर्गतको फुट ट्रयाकको समेत अवलोकन गरिएको संघका कामु कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । 

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका पूर्व अध्यक्ष एवम् नेउवामहासंघका कार्यकारिणि समिति सदस्य कल्याण जोशी, पूर्वअध्यक्ष देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेश कुमार पिया, उत्तमलाल चुके यसै गरि संघका निबर्तमान अध्यक्ष सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष त्रय सुमन कुमार श्रेष्ठ, चिरञ्जिवि सुवेदी, भोजराज कौडाल लगायतको उपस्थिति रहेको उवासंघ-चितवनले जनाएको छ ।

९ असार, चितवन ।