बैंक तथा व्यवसायी बिचको समस्या समाधान गर्न उवासंघ-चितवन र बैंकर्स विच छलफल

भरतपुर , उद्योग वाणिज्य संघ–चितवनले आज एक कार्यक्रमको आयोजना गरि भरतपुर

स्थित विभिन्न बैंकहरुका शाखा प्रबन्धकहरु संग छलफल कार्यक्रम सम्पन्न गरेको छ । संघको सभाहलमा भौतिक दुरी कायम गरि गरिएको छलफल कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले नेपाल राष्ट्रबैंकले मौद्रिक नीति लागु गरिसके पश्चात पनि कतिपय बैंक तथा वित्तिय संस्थाहरुले ऋणी व्यवसायीको घर दैलोमानै पुगि वक्यौता रकम असुल गर्ने,नवीकरण शुल्क असुल गर्ने लगायत व्यवसायीलाई मानसीक तनाव दिने जस्ता कार्य गरेको पाईएकोले यस्तो कार्य तत्काल रोक्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाका कारण मुख्य गरि पर्यटन, कृषि तथा सेवामुलक व्यवसायीहरु मारमा परेकोले बैंकहरुले हदै सम्मको लचकता अपनाई व्यवसाय मात्र होईन मानवीय सेवा भाव पनि प्रदर्शन गर्नुपर्ने बताउनु भयो। सोही कार्यक्रममा सहभागिहरुले कतिपय कुराहरु आ–आफ्नो बैंकको नीतिगत व्यवस्थाका कारण पनि नचाहंदा नचाहंदै पनि गर्नुपरेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले चितवनमा देखिएको बैंक र व्यवसायीको समस्या समाधान गर्नका लागि आफु तत्पर रहेको र सोको वारेमा उपल्लो निकायमा जानकारी गराउने बताएका थिए ।

सोहि कार्यक्रममा सहभागिहरुले हाल कोरोना संक्रमण दिनानुनिद बढ्दै गइरहेकोले बैंकमा सेवाग्राहीको समेत भिडभाड रहने हुंदा बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण हुन सक्ने भएकोले बैंकका कर्मचारीको कोरोना परिक्षण हुने व्यवस्थाका लागि उद्योग वाणिज्य संघ–चितवनलाई सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका थिए । बैंकका कतिपय क्रियाकलापलहरु समय सान्दर्भिक नभएकोले गर्दा व्यवसायीहरु हतोत्साहित हुनेगरेको जानकारी संघलाई प्राप्त भएकोले छलफल कार्यक्रमको आयोजना गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर स्थित विभिन्न बैंकका शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।