नारायणगढमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त, श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन

नारायणगढको ट्राफिक समस्या समाधानका लागि आवश्यक अध्ययन गर्नका लागि उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

सरोकारवाला संघ÷संस्थासँग आज छलफल गरी सो समिति गठन गरिएको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए । उद्योग वाणिज्य संघ–चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, भरतपुर महानगरपालिका, सडक विभाग, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिसमेत रहेको उक्त समितिले यथाशक्य छिटो अध्ययन गरी समस्या समाधानार्थ वृहत् छलफल गरी कार्यसम्पादन गर्ने उद्योग वाणिज्य संघ–चितवनले जनाएको छ

आज भरतपुर महानगरपालिकाअन्तर्गत पुल्चोकदेखि लायन्सचोक र पोखरा बसपार्कलगायत व्यवसायिक स्थान र राजमार्गमा रहेको ट्राफिक समस्या समाधान सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ ।

उद्योग वाणिज्य संघ–चितवनले गरेको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको व्यवसायिक केन्द्रको रुपमा रहेका विभिन्न व्यवसायिक स्थलहरुमा भएको पार्किङको समस्या एवम् ट्राफिक समस्याले व्यवसायमा नकारात्मक असर परेको बताए । उनले भने, ‘ ट्रफिक व्यवस्थापन भद्रगोल हुँदा अन्य मानविय क्षतिमा समेत वृद्धि हुन गएको छ ।’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले ट्राफिक व्यवस्थापनका आवश्यक पूर्वाधार नभएको कारण मुख्य बजार क्षेत्रमा समस्या सिर्जना भएको विचार राखे । यसको दिर्घकालिन समाधानको निजी क्षेत्रको तर्फबाट सहयोग गर्नका लागि उद्योग वाणिज्य संघ–चितवन तयार रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले नारायणगढ क्षेत्र नेपालकै केन्द्रबिन्दुमा रहेको र राजमार्गको लाइफलाइन पर्ने हुनाले यसको समस्या समाधानको लागि समपूर्ण सरोकारवाला सक्रिय हुनुपर्ने बताए । उनले ट्राफिक प्रहरीमा भएको जनशक्तिको अभावले पनि ट्राफिक व्यवस्थापनमा जटिलता आएको बताए । छलफल कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले समस्या समाधानको लागि दिर्घकालिन सोचसहितको भिजन तयार गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष भोजराज कौडाल, कार्यसमिति सदस्य अशोक अधिकारी, श्रीगणेश टोल विकास समितिका अध्यक्ष सिद्धार्थलाल चुके, उपाध्यक्ष बालगोपाल चुके, संगमटोल विकास संस्थाका अध्यक्ष रामहरि श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।