भरतपुर भ्रमण वर्षमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार आयोजना हुने ।

भरतपुर भ्रमण वर्षमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार आयोजना हुने ।

भरतपुर भ्रमण बर्ष २०२४ को अवसरमा विभिन्न

बिषयका करिब १२ वट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठि आयोजना हुने भएकाछन् । भरतपुर भ्रमण बर्ष २०२४ अन्तरगर्तको गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो । आज भरतपुर महानगरपालिका पर्यटन शाखामा वसेको समितिको वैठकले सो निर्णय गरेको हो । घुमौं भरतभुर भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको भ्रमण बर्षको अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन,प्रर्यापर्यटन, खेलकुद,साहसिक खेल, र्याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमि लगायतका बिविध बिषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठि तथा सेमिनार व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले बताउनु भयो । समितिको पहिलो वैठकमा आ–आफ्नो मन्तब्य दिंदै  समितिका सदस्यले सवैभन्दा पहिला भरतपुरमा पर्यटन केका लागि आउने भन्ने बिषयमा निक्यौल गरि प्रचार प्रसार गरिनु पर्ने बताउंदै लक्षित बर्ग छनौट गर्नुपर्ने बताएका थिए । छलफल कार्यक्रममा समितिका सदस्य एवम् प्राध्यापक डा. कपिलदेव सुवेदी, प्राध्यापक सुर्यनारायण पौडेल, उद्यमी युगराज वस्ती, व्यवसायी निरन्जन प्रधान, सदस्य कृष्णहरी सुवेदी ,विशाल भट्टराई,प्राध्यापक सरोज सापकोटा लगायतले आफ्नो राय सुझाव पेश गर्नुभएको थियो । सोहि छलफल कार्यक्रममा पर्यटविद् डा. विश्वराज सुवेदीले भरतपुर महानगरले छिट्टैनै कार्यक्रमको वार्षिक क्यालेन्डर तयार गर्न लागेको बताउंदै समितिलाई कार्ययोजना तय गर्न अनुरोध गर्नुभयो । एक बर्ष सम्म विविध कार्यक्रम सहित आयोजना गर्न लागिएको भरतपुर भ्रमण बर्ष २०२४ को प्रचार प्रसार तथा यस क्षेत्रको पहिचान दिने खालका सेमिनारहरु चितवन, पोखरा, लुम्बिनि र छिमेकी मूलुकका प्रमुख शहरहरुमा समेत आयोजना गर्ने वारेमा छलफल भएको समितिका सदस्य–सचिव  एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । छलफल कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संयोजक राजेन्द्र ओलीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउनमा भ्रमणबर्ष कोसेढुंगाको रुपमा स्थापित हुने बताउंदै सवै तह र तप्काकाले कार्यक्रमलाई सफल पार्न अनुरोध गर्नुभएको थियो ।संयोजक ओलीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा भरतपुर महानगरपालिका पर्यटन शाखाप्रमुख रामबाबु पौडेल,शाखाका कर्मचारी, विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । समितिले आगामी वैठकमा बर्षभरिमा आयोजना हुने सेमिनारको विवरण पेश गरि आवश्यक तयारी गर्ने निर्णय गरेको सदस्य सचिव निलबहादुर केसीले जानकारी दिनुभयो ।

२४ श्रावण,भरतपुर ।