उपभोक्ता सचेतना गोष्ठि सम्पन्न

उवासंघ–चितवनको उपभोक्ता सचेतना गोष्ठी

१६ असार , चितवन ।
उद्योग वाणिज्य संघ–चितवन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको संयुक्त आयोजनामा आज उद्योग वाणिज्य संघ–चितवनको

सभाहलमा एक दिवसिय उपभोक्ता सचेतना गोष्ठी सम्पन्न भएको छ । नेपाल सरकारबाट लागु गरिएको उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाका वारेमा व्यवसायी र उपभोक्तालाई सचेतना गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष्ँ एवं कार्यक्रमका प्रमुख अतिथि सहनलाल प्रधानले उपभोक्ता संरक्षण ऐनले व्यवस्था गरेको सेवा,सुविधा, हक, अधिकार लगायत दण्ड जरिवानाका वारेमा उत्पादक र उपभोक्ता जानकार भएमा मात्र यसको कार्यान्वय पक्ष बलियो हुने बताउंदै कुनै पनि वस्तुको व्यापार तथा उपभोग गर्ने सन्दर्भमा निश्चित मापदण्ड पुरा गर्ने र पूरा भए नभएको वारेमा उपभोक्ता आफै पनि सचेत हुनुपर्ने औंल्याउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका निर्देशक शोभाखर रेग्मीले ऐन लागु भइसकेपश्चात ऐनले व्यवस्था गरेबमोजिम कार्यान्वयनमा जाने सन्दर्भमा कतिपय उत्पादन, व्यवसायी र उपभोक्तालाई यसको जानकारी नहुंदा अफ्ठेरो पर्न जाने बताउंदै सो नहोस भन्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकृत द्धय हरि प्रसाद दाहाल र रमेश प्रसाद रिजालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोहि कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य ईश्वरी खराल लगायतले मन्तब्य राख्नु भएको थियो । उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका निर्देशक शोभाखर रेग्मीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा व्यवसायी ,उपभोक्ता, सरोकारवाला निकाय लगायत ८० जनाको सहभागिता रहेको थियो ।