चितवन उद्योग वाणिज्य संघको प्रेश विज्ञप्ती

मितिः– २०८२।०५।२५ प्रेस विज्ञप्ती ।
सुशासन, भ्रष्टाचारमुक्त समाज, सामाजिक सुधार लगायतका माग र राज्यले विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन प्लेटफर्महरु निषेध गरिएको बिषयको विरोध गर्दै नेपालका बिभिन्न स्थानहरुमा २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनमा भएको धन जनको अपूरणिय क्षति प्रति चितवन उद्योग वाणिज्य संघ गहिरो दुःख व्यक्त गर्दछ । तर आन्दोलनको नाममा गरिएको तोडफोड र आगजनीका कारण भएको सार्वजनिक एवम् निजी सम्पत्तिको क्षतिप्रति यस संघको गम्भिर ध्यानाकर्षण हुनुका साथसाथै यस किसिमको कार्य प्रति घोर भत्र्सना गर्दछ । नवयुवा पुस्ताले जायज माग राखि गरेको शान्तिपूर्ण आन्दोलन प्रति यस संघले ऐक्यवद्धता जनाई सकेको छ । सार्वजनिक सम्पत्ति सम्पूर्ण राष्ट्रको सम्पत्ति मात्र नभई देश विकासको मेरुदण्ड, राष्ट्रको पहिचान र गौरवसंग जोडिएको विषय हो भने निजी सम्पत्ति नागरिकको श्रम, लगानि र भविष्यको आशा जोडिएको अमुल्य धरोहर हो । सम्पत्ति प्राप्त गर्ने, उपभोग गर्ने, वेचविखन गर्ने तथा व्यवसाय गर्न पाउनुपर्ने मौलिक अधिकार मात्र नभई सर्वमान्य सामाजिक न्यायको सिद्धान्त हो भन्ने संघको ठहर रहेको छ । यस्ता सम्पत्ति नष्ट गर्नु लोकतन्त्रको भावना विपरित मात्र होइन, मुलुकको अर्थतन्त्र, रोजगार र सामाजिक विकासमा गम्भिर असर पर्ने कार्य हो । निजी सम्पत्ति विनाश हुँदा हजारौं श्रमिक वेरोजगार हुने, आपूर्ति प्रणाली अवरुद्ध हुने, उत्पादन र सेवा वितरण रोकिने र परिणामस्वरुप अर्थतन्त्रमा नकारात्मक असर पर्दछ । संघ लोकतान्त्रिक आन्दोलन र शान्तिपूर्ण विरोधलाई सम्मान गर्दछ, तर हिंसात्मक गतिविधि ,सम्पत्ति विनाश र असामाजिक व्यवहारलाई दृढतापूर्वक अस्विकार गर्दछ । बर्तमान अवस्थामा आन्दोलनकारिको माग सम्बन्धमा सम्बन्धित निकायहरुबाट वार्ता र छलफलको माध्यमबाट समस्या समाधानका लागि पहल समेत भैसकेकोले शान्ति सुरक्षा सुनिश्चत गर्न, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न, नागरिकलाई आत्मविश्वास दिलाउन र व्यवसायिक वातावरणलाई सुरक्षित बनाउन प्रभावकारी कदम चाल्नको लागि सम्बन्धित सबैमा चितवन उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ । मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना र शान्तिपूर्ण वातावरण निर्माणमा संघ सदैव कटिवद्ध रहेको प्रतिवद्धता व्यक्त गर्दै सवै पक्षलाई संयमताका साथ जिम्मेवार रहि शान्तिपूर्ण तवरले समाधान खोज्न अनुरोध गर्दछौं । साथै वर्तमान जटिल परिस्थितिलाई मध्येनजर गर्दै आफ्नो उद्योग तथा व्यवसायलाई सतर्कताका साथ सुरक्षित राख्न उद्यमी व्यसायिलाई अनुरोध गर्दछौं ।